|
पाल्पामा एक आठ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अरोपमा एक जना पक्राउ परेका छन् । तीन कक्षामा पढ्दै गरेकी बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका दिपक न्यौपानेलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । घटना बारे बुझ्न खोज्दा न्यौपानेले पत्रकार सम्मेलनमा ‘म केही पनि बोल्दिन’ भन्ने मात्रै जवाफ दिएका छन् । बलात्कार आरोपमा पाँच जनालाई पक्रेको र दिपकले घटनाको जिम्मेवारी लिएको जिल्ला प्रहरी प्रमुख रमेशराज भेटवालले बताउनुभयो ।
गएको सोमबार विद्यालयबाट घर फर्किँदै गर्दा बालिकालाई बिशाल भनिने दिपक न्यौपानेले बलात्कार गरी खोलाको पानीमा डुबाई हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा पक्राउ परेका दिपक न्यौपाने ट्रयाक्टरका सहचालक हुन् ।
प्रहरीले आरोपित कसरि पत्ता लगायो ?
विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई दिपकले माछा मार्न जान भन्दै खोला छेउमा लगेर बलात्कार गरेको र बलात्कारपछि घटना बाहिर आउने डरले हत्या गरेको प्रहरीले जनाएको छ ।
बालिकासँगै विद्यालयबाट फर्किरहेका भाइले दिदीलाई एकजना केटाले लगेको भनेर अभिभावकलाई सुनाएपछि अभिभावक प्रहरी कार्यालय पुगेका थिए । हत्यापछि बालिकाले लगाएको कानको मुन्द्रासमेत स्थानीय सुन पसलमा दिपकले बेच्न लगेको प्रहरीले जनाएको छ । त्यही कानको मुन्द्राका आधारमा अनुसन्धान गर्दै दिपकलाई पक्रन सफल भएको प्रहरीले बताएको छ ।
हदैसम्मको कारवाहीको माग
स्कुलबाट फर्किँदै गरेकी ८ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गर्नेलाई हदैसम्मको कारबाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । हत्या गरिएकी बालिका पढ्ने विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दा र अधिकारवादीहरुले दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय गएकी बालिका माथि भएको घटनाले हिंस्रक अपराधीको मनोबल बढाएको उनीहरुले बताएका छन् । महिला नेतृहरुले बालिका स्वतन्त्र रुपले विद्यालय जान, पढ्न र घरबाहिर हिँडडुल गर्न सक्ने शान्ति सुरक्षाको वातावरण सुनिश्चितता गर्न प्रशासनसमक्ष माग गरेका छन् ।
नेपाल मगर संघ, मगर महिला संघ, मगर विद्यार्थी संघले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै प्रहरी प्रशासन आगामी दिनमा यस्ता घटनाप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय बासिन्दा आक्रोशित
स्कुलबाट फर्केकी बालिकाको बलात्कारपछि हत्या भएपछि स्थानीय बासिन्दा आक्रोशित छन् । उनीहरुले हत्या आरोपी दिपकलाई देखाउन भन्दै दवाव दिइरहेका छन् । प्रहरी निरीक्षक रमेश राज भेटवालले आक्रोशित स्थानीय बासिन्दालाई शान्त पार्न आफै उभिएर घटना विवरण र सजायका सम्बन्धमा जानकारी गराउनुएको थियो । प्रभास, लामडाँडा, बर्तुङ्बाट सयौँ स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगेका थिए ।
विद्यालयमा शोकसभा
बलात्कारपछि हत्या गरिएकी बालिका अध्ययनरत सरस्वती मावि तानसेन नगरपालिका–१४ मा बुधबार शोकसभा गरिएको छ । शिक्षक , विद्यार्थी, अभिभावकको उपस्थितिमा गरिएको शोकसभामा अत्यन्त मर्माहत गराउने घटना भएकाले यसप्रति खेद व्यक्त गर्दै हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।
मंगलबारसमेत पढाउने वातावरण नभएको बताउँदै प्रधानाध्यापक शंकर पौडेलले बुधबार विद्यार्थी, अभिभावक, शिक्षकले यस प्रकारको अपराधिक घटनाको विरोधमा कडा आन्दोलन गर्ने बताएका छन् ।
|