वैशाख १२ – बार्सिलोना लिगका तीन खेल बाँकी हुँदा स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायम छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा लुइस स्वारेजको चार गोलको मद्दतमा बार्सिलोनाले १० खेलाडीमा सीमित स्पोर्टिङ डी गिजोनलाई ६–० ले हरायो । स्वारेजले लगातार दोस्रो खेलमा चार गोल गरेका हुन् । १२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका लागि थप पाँच गोल दोस्रो हाफमा भएको हो । ६३ औं मिनेटमा स्वारेजले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । स्वारेजेल ७४ र ७७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोको अग्रता ४–० मा पुग्यो । ८४ औं मिनेटमा भर्नाजेस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पोर्टिङ डी गिजोन १० खेलाडीमा सीमित भएको थियो । ८५ औं मिनेटमा पाएको अर्को पेनाल्टीमा नेइमारले गोल गरे । यस्तै ८८ औं मिनेटमा पनि बार्सिलोनाले पेनाल्डी पायो र त्यसमा स्वारेजले व्यक्तिगत चौंथो तथा टिमको छटौं गोल गरेपछि बार्सिलोनाले शानदार जित निकाल्यो । स्वारेजले यो सिजन अहिलेसम्म ला लिगामा ३४ गोल गरिसकेका छन् । जितपछि शीर्षस्थानको बार्सिलोनाको तीन खेल बाँकी हुँदा ८२ अंक भएको छ । एथ्लेटिको मड्रिडको पनि ८२ अंकनै छ तर गोल अन्तरका आधारमा उ दोस्रो स्थानमा छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–२ ले हराएको रियल मड्रिड ८१ अंकसहित तेस्रो स्थानमा छ । -